प्रो. डा. अर्जुन देव भट्ट वरीष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट
मूत्र रोग संलग्न आकस्मिक अवस्था भनेको के हो ? तुरुन्त उपचार नभएका खण्डमा शरीरमा वा ज्यानमा समेत भयभीत परिणाम ल्याउन सक्ने कुनै पनि मूत्र रोग संलग्न रोगहरूलाई आकस्मिक अवस्था भनेर लिनु पर्दछ । यस्ता अवस्था मूत्र रोग माझ कुनै समय पनि देखा पर्न सक्छन् । त्यसैले यस्ता अवस्थाबारे सामान्य ज्ञान हुनु आमजनमानसमा निकै महत्वपुर्ण हुन्छ।
कुन-कुन मूत्र रोग आकस्मिकमा पर्दछन् ?
निम्न अवस्थाहरूलाई युरोलोजीमा आकस्मिक भनेर लिने गरिन्छ ।
१. एक्कासी पिसाप रोकिनु - Acute Urinary Retention
२. मृगौलाको शूल - Renal Colic
३. बटारिएको अण्डकोष - Torsion Testes
४. पाराफाइमोसिस् - अड्किएको अग्रचर्म - Paraphimosis
५. अण्डशय तथा लिङ्गचर्म मृत अवस्था - Fournier's Gangrene
६. प्राइअPिजम - अविरल लिङ्ग उत्तेजना - Priapizm
७. भाँच्चिएको लिङ्ग - Fracture Penis
८. उपअण्ड शोथ - Epididymitis
९. सङ्क्रमणमुख मूत्रनली सोथ - Acute Urethritis
१०. यौनाङ्ग हर्पिज - Genital Herpes
११. मूत्रनली चोट - Urethral Trauma
१२. थिचिएको मेरुदण्ड - Spinal Cord Compression
किन एक्कासी पिसाप रोकिन्छ र त्यसको सञ्चालन कसरी गर्ने ? मूत्राशयभरि पिसाप भएकै अवस्थामा अप्ठ्याट पिसाप रोक्नु ज्यादै ठूलो दर्द र छटपटीपूर्ण हुन्छ । यो अवस्था पुरुष तथा स्त्री दुवै लिङ्गमा देखा पर्न सक्छ । साना उमेरकादेखि वृद्धअवस्थासम्म पनि यस्तो हुनसक्छ तर कारण भने ज्यादै भिन्न हुने गर्दछन् ।
कारण: मूत्रपथरी, जमेको रगतका टुक्रा, बच्चामा देखिने मूत्रनलीको भल्भ, प्रोस्टेट ग्रन्थिको कडा शोथ वा वृद्धि, साँघुरो मूत्रनली इत्यादि हुन्छन् । स्त्रीहरूमा मूत्र थैली तल भरेपछि मूत्रनली धेरै चञ्चल भएर बाझिएर एक्कासी पिसाप रोकिन्छ । जति बढी कने र पिसाप फेर्न खोज्यो त्यति नै झन् गाहरो हुन्छ । खास गरेर मधुमेहले यो समस्या उब्जाउने हुन्छ ।
लक्षण: पेट दुःख्ने, फुल्ने, दिसा बस्ने मन हुने, वाक-वाक वान्ता हुने, बर्बराउने (खास गरेर वृद्धहरू), छटपट हुने कसो गहँ के गहँ भनेर यताउता हिँड्ने हुन्छ ।
उपचार: जुनसुकै कारणले पिसाप रोकिएको भए पनि मूत्रथैलीमा नली राखेर मूत्र सञ्चालन गर्नु अनिवार्य हुन्छ । त्यसपछि कसरी स्थायी रूपमा यो समस्या समाधान गर्ने त्यसको विस्तृत जाँच तथा उपचार गरिन्छ ।
मृगौलाको शूल किन र कसरी हुन्छ ? उपचार के हो ? यो अवस्था प्राय: पत्थरीसँग सम्बन्धित हुन्छ । पत्थरी मृगौलाबाट मूत्र वाहिनी नली हुँदै मूत्राशयमा निक्लन खोज्दा पिसापको सञ्चालनमा अवरोध आएर मृगौला भित्रको चाप बढ्ने हुन्छ । फलस्वरूप ज्यादै नराम्रो पीडा कोखामा अनुभव हुन्छ । वाक-वाकी लाग्ने वा वान्ता हुने, पेट फुल्ने र बस्दा, उठ्दा केही गर्दा पनि दुःखाइमा फरक नहुने हुन्छ । पत्थरी मूत्र वाहिनी नलीमा तल सर्दै गए पीडा अण्डकोष वा योनीको ओष्ठतिर पनि दिन सक्छ । अल्ट्रासोनोग्राफी, रत्त तथा मूत्रपरीक्षण गरेर पत्थरीको परिमाण, सङ्क्रमण भए नभएको र मृगौलाको कार्य क्षमता बारे केही सूचना उपलब्ध हुन्छ । सीटीस्क्यानबाट पत्थरीको कडापन, कुन ठाउँमा गएर अड्किएको छ र मृगौलाको कार्यक्षमता थाहा पाउन सकिन्छ । प्राय: ५ मिलिमिटर भन्दा ठूला पत्थरी आफै निस्कन गाह्रो हुन्छ तर मूत्रनलीको लचकता र व्यास, पत्थरीको सतहको खसोपना, मूत्रवेग इत्यादि धेरै कुरामा भर पर्छ ।
उपचार: नदुःख्ने र मूत्रबाहिनी नली खुकुलो पार्ने औषधिको प्रयोग, तरल पदार्थको बढी प्रयोग, बढी सक्रिय जीवन चलाउने इत्यादिबाट हुन्छ तर दुई हप्तासम्म पनि पत्थरी आफ्नो ठाउँबाट तल नसरे र मृगौलाबाट मूत्र सञ्चालन पूरै अवरोध भएका खण्डमा शल्यक्रिया प्राय: अनिवार्य हुन्छ ।
बटारिएको अण्डकोष कसरी थाहा पाउने ? एक दुई वर्षका बच्चा वा किशोरहरूमा बढी देखिने एउटा गम्भीर अवस्था हो फन्फन्ती घुमेको अण्डकोष । वास्तवमा अण्डकोष घुमेर देखिने यो विकृति १२ प्रतिशत पुरुष बच्चामा देखा पर्दछ ।
कारण: शारीरिक बनावटको फरकले गर्दा अण्डकोष आफ्नो अक्षमा रज्जु (Spermatic Cord) को वरिपरि फन्फन्ती घुम्ने गर्दछ । फलस्वरूप अण्डकोष माथि तानिने, त्यसको रक्तसञ्चारमा कमी आउने, दुःख्ने र सुनिने हुन्छ । यो प्रक्रिया ज्यादै छिटो हुने गर्दछ । बिरामीले यस प्रकारको पीडा अगाडि पनि अनुभव गरेको हुन सक्छ ।
"Medicare" Where care comes first
लक्षण: सामान्य अवस्थामा अण्डकोष ठाडो भएर रहेको हुन्छ । अण्डकोष आफ्नो ठाउँभन्दा माथि र तेर्सो (Horizontal) भएर रहेको छ भने त्यो रोग निरूपणको सबै भन्दा पहिलो, सजिलो र मूल्यहीन सूचक हो । यसलाई हत्केलामा अझै माथि उठाउन खोज्दा झन् दुख्ने र दुःखेको कम नहुने हुन्छ । यो अवस्था एक्कासी खास गरेर राति वा बिहानीपख जब लिङ्ग उत्तेजित हुन्छ क्रेमास्टर मांसपेशी प्रतिक्रिया (Cremasteric reflex) ले गर्दा शुक्रग्रन्थि माथि तानिनेछ । यो रिफ्लेक्स अण्डकोष घुमिसकेपछि प्राय देखा पर्दैन ।
उपचार: प्राय ४ घण्टाभित्र नभएमा रक्त सञ्चारको कमीले गर्दा अण्डकोष मृत हुन्छ । त्यस्तो अण्डकोषले शुक्रकीट उत्पादन गर्ने क्षमता गुमाउँछ । त्यसैले यस्तो रोगमा समयमै चिकित्सकलाई देखाएर ४ घण्टाभित्र बटारिएको फुकाइसक्नुपर्छ । त्यो गर्न नसके शल्यविधि अपनाउनुको विकल्प हुन्न । शल्यक्रियाको समयमा अर्को अण्डकोषको पनि घुम्ने अवस्था नआओस् भन्न त्यसलाई पनि नघुम्ने गरीकन उपयुक्त ठाउँमा सिलाउनुपर्छ ।
अग्र चर्म अड्किने भनेको के हो ? त्यसो भए के समस्या उत्पन्न हुन सक्छ ? पाराफाइमोसिस बच्चा, युवक तथा वृद्ध अवस्थामा बढी देखापर्दछ ।
कारण: सजिलैसँग तलमाथि नसर्ने गरी कस्सिएर लिङ्ग मुण्डमाथि रहेको अग्र चर्मलाई बल प्रयोग गरेर मुण्डबाट तानेर पछाडि लगेको अवस्थामा त्यसै छोडिदियो भने त्यसले मुण्डलाई चारैतिरबाट थिचेर लिङ्गको मुण्ड फुल्ने र ज्यादै दर्द पूर्ण हुन्छ ।
लक्षण: तानिएर पछाडि गएको अग्र चर्म सुनिने तथा सङ्क्रमणले गर्दा पीडादाई तथा औधी अप्ठेरो हुन्छ । समयमै त्यसलाई मुण्ड माथि नल्याएको खण्डमा मुण्ड रक्तसञ्चारमा ज्यादै कमी गरेर त्यो भागको इस्कीमीक नेक्रोसिस (Ischemic Necosis) मृत्यु हुन सक्छ ।
उपचार: सक्दो छिटो अग्र चर्मलाई मुण्ड माथि पुऱ्याउनुपर्दछ । फेरि यस्तो अवस्था नदोहरियोस् भन्न शिशन चर्मच्छेदन (circumcision) गर्नु पर्दछ ।
जननेन्द्रिय चर्म मृत अवस्था किन र कस्का हुन्छ ? कारण: अण्डशय तथा लिङ्गचर्म मृत अवस्था प्रतिरक्षा प्रणाली कमजोर भएका प्राय: मधुमेहबाट पीडित पुरुषमा कडा सङ्क्रमणको कारणले देखिन्छ । अण्डशय तथा लिङ्गको छालाबाहेक पेटको तल्लो भाग र अण्डशय तथा मलद्वार बीचको चर्म पनि सङ्क्रमणबाट मृत हुन सक्छ । खास गरेर मधुमेहका बिरामी यो रोगको निशानामा हुन्छन् ।
लक्षण: अण्डशयको चर्म दुख्ने, फुल्ने, औलाले थिच्दा भित्र हावा भरिएको अनुभव हुन्छ । बिरामी निस्लोट अवस्थामा ज्वरो भएको र ज्यादै विषाक्त हुन्छ ।
स्त्रीहरूमा यो रोग पुरुषको दाँजोमा दश गुना कम हुन्छ । उनीहरूमा योनीको ओष्ठ सङ्क्रमणले मृत अवस्थामा पुग्ने गर्छ ।
उपचार: प्रशस्त तरल पदार्थ, अक्सिजन, पीडा कम गर्ने औषधि तथा कडा एन्टिबायोटिकबाट गरिन्छ । साथै शल्य तरिकाले मृतचर्म तथा तन्तुहरूलाई पूर्ण मात्रामा काटेर फाल्नु अनिवार्य हुन्छ । उपचार अस्पतालमा र लामो हुन्छ । यो रोगबाट ५० प्रतिशत भन्दा बढी बिरामीको मृत्युसमेत हुने गर्दछ ।
कहिले र किन अविरल लिङ्ग उत्तेजनाको अवस्था देखा पर्दछ ? यौन इच्छा विपरीत स्वस्फूर्त ४ घण्टा बढी दुख्ने गरीकन लिङ्ग उत्तेजित भइराख्ने तर लिङ्ग मुण्ड नफुल्ने अवस्थालाई प्राइअपिज़म (अविरल लिङ्ग उत्तेजना) भन्ने गरिन्छ । यो अवस्थाका दुई प्रकार हुन्छन् । पहिलो - इस्कीमीक (Ischemic Priapism or low-flow) यो अक्सिजन भएको रक्तसञ्चालन कम हुने, कार्बन डाइअक्साइड भएको रगत तथा लिम्फ लिङ्गबाट पर्याप्त मात्रामा नबाहिरिने हुन्छ । फलस्वरूप लिङ्ग ज्यादै दुख्ने र लामो समय उत्तेजित भई नै रहन्छ । यद्यपि लिङ्गमुण्ड भने फुल्दैन । २४ देखि ४८ घण्टा यो अवस्थाको उपचार नभएमा अपरिवर्तनीय (Irreversible) लिङ्गको क्षति हुन्छ । पहिलो प्रकारको अविरल लिङ्ग उत्तेजना विभिन्न रोग तथा औषधि र लागू पदार्थको दुरूपयोगले हुने गर्दछ । रगतको अर्बुद, औसीको चन्द्र आकारका रातो रक्त कोशिका भएर अल्पता भएका बिरामी, थालासीमिया (Thalassemia) भनिने आनुवंशिक रक्तअल्पता, असामान्य तरिकाले छिटो रत्त जम्ने रोग (Hypercoagulable states) जस्ता विकृतिमा प्राइअपिज़म देखा पर्न सक्छ ।
दोस्रो प्रकारको रोगमा लिङ्ग पहिलो प्रकारको भन्दा केही कम उत्तेजित र पीडा कम हुने हुन्छ । यो प्रकार रत्त सञ्चालन गर्ने नसाको चोटपटक तथा मेरुदण्डको वा पेरिनयम (Perincum) गुद्धार र अण्डकोषमुनिको भाग क्षति हुँदा देखापर्दछ । दोस्रो प्रकारमा लिङ्गको क्षति कम हुन्छ । बिरामी पनि पीडा कम हुने हुँदा ढिलो चिकित्सक कहाँ पुग्ने गर्दछन् ।
उपचार: पहिलो प्रकारको प्राइअपिज़ममा बिरामीलाई प्रशस्त तरल पदार्थ दिने, नदुख्ने औषधि र अक्सिजनले उपचारमा ठूलो भूमिका रहन्छ तर बिरामीको चौतर्फी जाँच गरेर रोगको कारण थाहा पाउनु र त्यसको सक्दो छिटो उपचार गरेर फेरि यो अवस्था नआवस् भन्न ध्यान दिनुपर्दछ । कडापन र पीडा कम गर्न लिङ्गबाट कार्बनडाइअक्साइड भएको रगत निकालेर फालिन्छ । शल्यविधिबाट लिङ्गमुण्ड भएर रक्तसञ्चार गराउने समस्याको समाधान खोजिन्छ ।
लिङ्ग किन र कसरी भाँच्चिन्छ ? त्यसको उपचार कसरी गरिन्छ ? कारण र लक्षण: उत्तेजित अवस्थामा बलजफित बङ्ग्याउँदा सेतो बलियो तन्तु ट्युनिका फुटेपछि लिङ्ग विखण्डन देखापर्दछ । प्राय: जसो उग्रतापूर्वक यौन क्रीडाको समयमा लिङ्ग कुनै कडा भागमा जुधाउँदा ट्युनिका एक्कासी 'क्वाँट' आवाजसहित फुटेर छिनभरमै शिथिल हुन्छ । त्यसपछि लिङ्गमा रगत जम्ने फुल्ने हुन्छ तर उत्तेजित हुँदैन । तर यो समयमा मूत्र नलीमा पनि चोट लागेको छैन भने पिसाप फेर्न कुनै समस्या हुँदैन ।
"Medicare" Where care comes first
उपचार: फाटेको-च्यात्तिएको सेतो बलियो तन्तु ट्युनिकालाई शल्यविधिबाट सिलाएर भविष्यमा यौनउत्तेजना फेरि फर्काउन सकिन्छ तर शल्य उपचारको ८ हप्ता यौन सम्पर्कमा रहनु हुन्न।
उप-अण्ड भनेको के हो र त्यसको शोथ किन हुन्छ ?
कारण र लक्षण: अण्डकोषको माथि रहेको अर्को संरचना जहाँ भर्खर बनेका शुक्रकीटहरू बढी विकसित हुन्छन् त्यसको नाउ उप-अण्ड हो । यो संरचनामा सङ्क्रमणले धावा बोलेपछि ज्वरो आउने, दुख्ने, फुल्ने र तातो हुने हुन्छ । पिसाप फेर्दा पोल्ने र दुख्ने पनि हुनसक्छ ।
उपचार: सर्वप्रथम अण्डकोषलाई झुन्डिन नदिन कट्टु वा लंगोटी लगाएर समर्थन गर्ने । त्यस्तो गर्दा दुखाई कम महसुस हुन्छ । नदुख्ने औषधि एन्टिबायोटिक इत्यादिबाट गरिन्छ । शुरुमै उपचार शुरु भए सुनिएको कम हुन हप्तौ लाग्ने गर्दछ ।
मूत्र नलीको उग्रशोथ के कारणले हुन्छ ?
कारण र लक्षण: प्रमुख रूपमा सङ्क्रमण मूत्र नलीमा रहेको अवस्थामा उग्रशोथ देखा पर्दछ । पिसाप पोल्ने मूत्रनलीबाट पीप बग्ने र दुर्गन्ध आउने हुन्छ । पीपको जाँच गर्न दिएर कुन सङ्क्रमण हो यकिन गर्न सकिन्छ । प्राय:जसो गनरिया नै यसको कारण गोनोकोकल (Gonococcal) जीवाणु संलग्न हुन्छ । यो रोग असुरक्षित यौन सम्बन्ध गरेको ३ देखि १२ दिनभित्र देखिन सक्छ । यो रोगले आँखा, घुँडा, मुटु, मलद्वार, जस्ता अङ्गहरूलाई पनि नराम्रो असर गर्न सक्छ । मूत्रनली उग्रशोथको अर्को कारण क्लामिडिया ट्राको मोटिस (Clamydia Trachomatis) सङ्क्रमणले हुन्छ । यौन सम्बन्धको एकदेखि पाँच हप्ताभित्र यो रोगले आफूलाई जनाउ दिन्छ । स्त्रीमा यो रोग सरेपछि पेटको तल्लो भाग दुख्ने बच्चा गर्भ रहँदा पाठे घरको साटो फेलोपियन ट्युबमा बस्ने, गर्भधारण गर्न नसकिने तथा बच्चा रहे पनि जन्मिने सिलसिलामा सङ्क्रमण बच्चामा सर्ने समस्या नराम्रा असर पर्न सक्छन् ।
उपचार: यौन सहभागी सबैलाई एकै पल्ट गर्नु अनिवार्य हुन्छ । अन्यथा यसले फेरि-फेरि दुःख दिन्छ । एन्टिबायोटिक उपचारको केन्द्रमा हुन्छ तर पनि यो रोगले पारेका मानसिक असरको उपचार कुनै बिरामीलाई लामो समय पिरोल्ने गर्दछ ।
यौनाङ्ग हर्पिज कुन रूपमा देखा पर्दछ ?
कारण: यो पुरुष तथा स्त्री दुवैमा देखा पर्ने सरुवा रोग हो । जननेन्द्रिय हर्पिज रोगको लक्षण प्रकट अवधि यौनसम्बन्ध भएपछि २ देखि १६ दिनसम्म हुन्छ । पुरुषमा अग्र चर्म तथा लिङ्गमुण्डमा यसले असर गर्छ । स्त्रीमा योनीको ओष्ठ र पाठे घरको घाँटीलाई नराम्रो असर गर्दछ । पुरुष भन्दा स्त्रीमा यो रोगले बढी उग्र लक्षण देखाउने गर्दछ । यो रोग प्राय: प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिमा बढी देखा पर्दछ । रोगको प्रारम्भमा ज्वरो आउने, टाउको दु:ख्ने, मांसपेशी दुख्ने र कमजोरी अनुभव हुन्छ ।
लक्षण: यौनअङ्गमा तातो पानीले पोल्दा झै फोका तर थुप्रै, साना एक दुई मिलिमिटरका, तिनीहरूको छेउ रातो, दुख्ने र काछतिर दुख्ने गिर्खा पनि हुन सक्छन् ।
उपचार: असाइक्लोभिर (Acyclovir) औषधिबाट गरिन्छ तर रोग दोहोरिएको अवस्थामा यौनसम्बन्ध राख्नु हुँदैन । उपचार गर्दा गर्दै पनि २-३ हप्ता भन्दा बढी फोका तथा घाउ नहराए अरू यौन संलग्न सरुवा रोगको साइका तथा जाँच अनिवार्य रूपमा गर्नुपर्दछ ।
मूत्रनलीमा चोट कुन अवस्थामा लाग्न सक्छ ? चोट लागे उपचार कसरी गर्ने ?
कारण: यो अवस्था ९० प्रतिशत कट्टिको हड्डी भाँचिदा देखा पर्दछ । त्यो बाहेक रुखबाट खस्दा घोडा चढे जसरी हाँगामा एक्कासी बस्न पुनु वा मन्नालको फलामे चक्काले अण्डकोष र गुदद्वारतिर ठोकिनु, साइकल चढ्दा वा क्लासमा बेञ्च वा मेचले अण्डकोष मुनी ठोकिनु इत्यादि । यस्तो चोटले मूत्रनली थिचिने वा च्यातिने गरी वा पूरै दुई टुक्रा हुने गरी चोट लाग्ने हुन सक्छ । मूत्रनलीको चोट स्वास्थ्य कर्मी संलग्न पनि हुन सक्छ । मूत्रनलीको अग्र भागमा प्राय: कमै चोट लाग्ने हुन्छ ।
रोग निदान र लक्षण: मूत्रनलीको टुप्पोबाट रगतको थोपा मात्र आयो, पिसाप फेर्न सकिएन र पिसापथैली भरिएको फेला परे यकिन हुन्छ । कुन ठाउँमा चोट छ इत्यादि एक्सरेबाट विशेष जाँच गरेर ठम्याइन्छ ।
उपचार: मूत्रनली शुरुको अवस्थाभन्दा बढी नच्यातियोस् भनी औषधी सतर्कता अपनाएर उपचार गर्नुपर्दछ । सोझै मूत्र नलीबाट पिसाप निकाल्न रबडको नली नराख्न मिल्ने अवस्थामा पेटको तल्लो भाग प्वाल पारेर मूत्र सञ्चालन गर्नु सबै भन्दा बढी सुरक्षित हुन्छ ।
थिचिएको मेरुदण्ड किन मूत्र रोग विशेषज्ञले हेर्नु पर्ने ?
स्पाइनलकोर्ड थिचिएको अवस्था वास्तवमै विभिन्न विशेषज्ञहरूको क्षेत्रभित्र पर्दछ । त्यसमा मूत्र विशेषज्ञहरू पनि पर्दछन् । खुट्टामा केही कमजोरीबाट शुरु भई पूर्ण रूपमा दिसा पिसाप फेर्न नसक्ने भए बिरामीहरूलाई ल्याइने गरिन्छ । खास गरेर प्रोस्टेट क्यान्सर बिरामीमा मेरुदण्डको हड्डीसम्म रोग फैलिएको भन्दै ८५ प्रतिशत हुन्छ । मेरुदण्डलाई थिच्न थालेको अवस्थामा हलचल गर्दा पछाडि दुख्ने, हिँड नसकिने, खुट्टामा भर नहुने, आफ्नो खुट्टा आफैले चाल पाउन नसकिने, दिसा पिसाप चुई राख्ने र पेटको तल्लो भागमा भरिएर तन्किएको मूत्राशय डल्लोको रूपमा अनुभव गर्न सकिन्छ । यस्ता बिरामीको यकिन रोग पहिचानमा एमआरआईको ठूलो रोल छ ।
उपचार: बिरामीलाई ज्यादै हलुकारसँग फर्काउने, सार्ने पर्दछ । मूत्रसञ्चालन गर्न रबडको नली राखिन्छ । औषधिमा कर्टिकोस्टेरोइडलाई सक्दो छिटो दिएर मेरुदण्ड सुनिएको कम गरिन्छ । विकिरणले सेक्ने वा शल्य विधिबाट थिचेको भागलाई राहत दिनु पर्दछ ।