डा. अवनि भूषण उपाध्याय
वरिष्ठ मुटु रोग विशेषज्ञ
उमेर ढल्केपछि रक्त चापको केही उचनीच हुन थाल्दछ। यो सामान्यतया प्राकृतिक हुन्छन् तर उमेर पुगेका जनसमुदायको उपचार गर्दा यदि यो कुरालाई ध्यान दिन सकिएन भने यसले वरिष्ठ नागरिकहरूमा हुन सक्ने समस्या बढाउँछ। जसले गर्दा मृत्यु दर बढ्छ, बुढेसकालमा हुने अन्य समस्या पनि बढ्न थाल्दछ।
उमेर सँगसँगै रक्तचाप पनि बढ्दै जान्छ, माथिको (Systolic) र तलको (Diastolic) दुवै बढ्न थाल्छन्। Diastolic (तलको) चापचाहिँ ५०-६० वर्षपछि त्यति बढ्ने गर्दैन। किन बढ्दैन भने, उमेर सँगसँगै आोर्टा (Aorta शरीरमा हुने ठूलो धमनी जसले मुटुबाट अन्य शरीरमा रगत पुऱ्याउने काम गर्दछ) को Atherosclerotic परिवर्तनले गर्दा कडापन बढ्न थाल्दछ।
यो कडापनको कारणले गर्दा माथिको र तलको रक्त चापमा अन्तर बढ्न थाल्दछ। Systolic र Diastolic को बीचको फरक झन् फराकिलो हुँदै जान्छ। यो अवस्थालाई Pulse Pressure बढेको भनिन्छ। यही कारणले गर्दा वरिष्ठ नागरिकहरूमा Systolic Blood Pressure बढी देखिने गरेको छ। माथिको Pressure बढ्छ तर तलको चाहिँ ५०-६० को उमेरदेखि त्यति बढेको देखिंदैन।
उमेर बढ्दै गएपछि धमनीको कडापन बढ्ने, Baroreceptor Sensitivity घटने, Sympathetic Nervous System को activity मा घटी/बढी हुने, alpha र beta Adrenergic Responsiveness मा घटी आउने, Endothelial Relaxing Factor को कमी, Sodium को Sensitivity बढ्ने, Kidney को Glomerular Filtration Rate घटने। यसले Plasma Renin Activity घट्न जान्छ र साथै Insulin Resistance बढ्छ। यी कारणहरूले गर्दा रक्त चापमा उच नीच आउन थाल्दछ। उठ्दा, खाना खान बस्दा, यताउता गर्दा पनि यो स्थिर भएर बस्ने गर्दैन। यो अवस्थालाई हामीले वरिष्ठ नागरिकको उपचार गर्ने क्रममा पूरा ध्यान दिनु जरुरी छ।
जेष्ठ नागरिकहरूमा उच्च रक्तचाप हुँदा केही जरुरी जानकारी
- Blood Pressure मा Fluctuation हुने,
- Systolic उच्च रक्त चाप बढ्ने,
- बस्दा, उठ्दा र खाना खाएपछि BP तल माथि हुने,
- सेतो कोट उच्च रक्तचाप बढ्ने,रातिको Pressure अध्ययन गर्दा Non-Dipper type को बढी हुने (Non-Dipper भनेको सामान्यतया दिउँसोको भन्दा राती BP कम हुन पर्दछ। Non-Dipper मा यो फरक हुँदैन),
- मुख्य मुख्य organ मा रक्तप्रवाह घटेको अवस्था रहने,
- शरीरले आफै सन्तुलन मिलाउन सक्ने क्षमतामा कमी आउने।
यही कारणले गर्दा BP नाप्ने बेलामा बसेर, उठेर, खाना खाएपछि र अरूलाई भन्दा जेष्ठ नागरिकहरूलाई अलि छिटो छिटो BP नापिराख्नु आवश्यक छ।
जेष्ठ नागरिकमा हुन सक्ने BP को उचनीच
उमेर पुगेकाहरूको दिनको/रातको BP मा फरक आएको हुन्छ। शरीरमा विभिन्न कमजोरी र खास गरेर किड्नी सम्बन्धी समस्याले गर्दा रातिको Pressure Non 'Dipper Type हुन्छ। यो नै एउटा मुटुमा समस्या ल्याउने कारण हो। यो समस्या सँगसँगै वरिष्ठ नागरिकहरूमा निद्रा कम हुन सक्छ (Melatonin को उत्पादन घटेको कारणले गर्दा)।
अर्को अति जान्नुपर्ने कुराचाहिँ के हो भने बिहानीपख को BP pressure को 'धक्का' यसले गर्दा कडापन बढेका धमनीलाई हानी पुऱ्याउन सक्दछ र हृदयघातको सङ्ख्या, मस्तिष्क घातको सङ्ख्या बढेको देखिन्छ। दैनिक कार्य गर्दा पनि जेष्ठ नागरिकमा BP को उच्च नीच भइरहेको हुन सक्दछ।
"Medicare" Where care comes first
उठ्दा BP झरेर वरिष्ठ नागरिकहरूलाई रिंगटा लाग्ने, लड्ने, चोट पटक लाग्ने गरेको पाइएको छ। तसर्थ BP नाप्दा बस्दा र एकछिन उभिएपछि हेर्नु अनिवार्य छ ।
खानापछिको BP को अवस्थामा पनि ध्यान दिन जरुरी छ। खाएपछि 20mmHg सम्म BP कम देखिन सक्दछ, यो खाएको २ घण्टासम्म देखिन सक्दछ। खास गरेर उमेर पुगेपछि हुने रोगहरूका कारणले यो बढी देखिन सक्दछ, जस्तै Parkinson Disease, Alzheimer's Disease, Multiple System Atrophy र Diabetes । यो खानापछि घट्ने BP के कारणले घट्छ ? थाहा छैन, तर Protein, Fat भन्दा कार्वोहाइड्रेट खाना खादा यो समस्या बढी देखिएको छ ।
वरिष्ठ नागरिकहरूको उच्च रक्तचापको औषधि गर्दा सेतो कोट उच्च रक्तचाप र जाँच गराउन आउँदा भिन्नाभिन्नै BP देखिन सक्ने सम्भावना बिर्सनु हुँदैन । त्यसको कारण जेष्ठ नागरिकहरूको Blood Pressure को उपचार गर्दा हुन सक्ने रक्तचापको उच्चनीच र अरू विशेषताहरूको पूरा ज्ञान राख्नु जरुरी छ । यो कुरामा ध्यान पुऱ्याउन सकिएन भने जेष्ठ नागरिकहरूको मृत्युदरमा वृद्धि हुन सक्दछ, अरू पनि धेरै जटिल समस्याहरू देखापर्न थाल्दछन् ।
हामी सबै चिकित्सकहरूले जेष्ठ नागरिकहरूको उपचारमा पुऱ्याउनु पर्ने विशेष ध्यानलाई बिर्सन मिल्दैन ।
"स्मरण रहोस्, समाजको विकाससँगै जेष्ठ नागरिकहरूको सङ्ख्या बढ्छ भन्ने तथ्यमा कुनै सङ्का छैन ।"
We care for your better health!